यी शर्तहरु पुरा गरे घर जग्गा खरिद गर्न सञ्चयकोषले ५० लाखसम्म सापटी दिन्छ

  • By: purbeli
  • July 19, 2022

काठमाडौँ । के तपाईँ कर्मचारी संचय कोषको संचयकर्ता हुनुहुन्छ ? यदि हुनुहुन्छ भने तपाईँलाई पनि थाहा होला घर जग्गा खरिदका लागि कोषले ५० लाख रुपैयाँसम्म सापटी दिन्छ।
कोषले गतवर्ष मात्र ‘संचयकर्ता सापटी कार्यविधि २०७८’ स्वीकृति भएपछि जग्गा खरिदका लागि पनि सापटि दिने भएको हो। यसअघि घर खरिद र घरनिर्माणका लागि मात्र दिने गरेको थियो ।
कोषले यसअघि सञ्चयकर्तालाई घर किन्न र बनाउन पनि सापटी दिँदै आएको थियो। अब जग्गा किन्न ५० लाख रूपैयाँ ऋण दिने भएको हो। सापटी लिनका लागि संचयकर्ताले केही र्शतहरु पनि मान्नु पर्ने हुन्छ।

१) सापटीका लागि कोषमा एक वर्ष वा सोभन्दा बढी समय नियमित सञ्चयकोष कट्टी गरेका सञ्चयकर्ता हुनुपर्नेछ।
२) उमेर वा पदावधिको आधारमा दुई वर्ष सेवाअवधि बाँकी भएका सञ्चयकर्तालाई जग्गा किन्न यो सापटी पाइने छ।
३) यो सापटीको अधिकतम सीमा धितो मूल्यांकनबाट कायम भएको रकममा नबढ्ने गरी सञ्चयकर्ता कार्यरत तह वा श्रेणीको सुरू तलबमान र सेवा अवधिका आधारमा दस वर्षको तलब वा अधिकतम पचास (५०) लाख रूपैयाँ हुनेछ।
४) धितो रहने जग्गाको मूल्यांकनबाट कायम भएको मूल्यभन्दा बढी ऋण रकम तथा जग्गा खरिद÷बिक्री गर्ने व्यक्ति, सरकारी निकाय वा कम्पनीले निर्धारण गरेको मूल्यभन्दा बढी ऋण प्रदान गरिने छैन।
५) सञ्चयकर्ताको बाँकी नोकरी अवधिमा नबढ्ने गरी सापटी चुक्ता गर्ने अवधि अधिकतम दस वर्षको हुनेछ। यो सापटीमा ग्रेस अवधि कायम हुने छैन।
६) सापटीको ब्याजदर ७.९ प्रतिशत कायम गरिएको छ।
७) पहिले घर सापटी, घरमर्मत सापटी र सरल चक्रकर्जा लिएका सञ्चयकर्ताले त्यस किसिमका सापटी चुक्ता नगरेसम्म यो जग्गा खरिद सापटी पाउने छैनन्।
८) शैक्षिक सापटी लिएका सञ्चयकर्ताले कर्जा नियमित गरेको अवस्थामा भने यो सापटी पाउने कोषले जानकारी दिएको छ।
९) सञ्चयकर्ताले लिएको जग्गा खरिद सापटी चुक्ता गरेमा पुनः दुईपटक जग्गा खरिद सापटी दिन सकिने कोषका प्रवक्ता सुवेदी बताउँछन्।
१०) यो सापटी पाउन न्यूनतम चार मिटरको बाटो भएको जग्गा हुनु पर्नेछ।
११) जग्गाको क्षेत्रफल काठमाडौं उपत्यकामा कम्तीमा तीन आना र उपत्यका बाहिर कम्तीमा आठ धुर वा पाँच आना हुनुपर्छ,
१२) जग्गा खरिद कर्जाका लागि पेश गरिने जग्गाको साँध–सीमाना छुट्टिने गरी जमिनबाट कम्तीमा एक फिट उचाइ र कम्तीमा नौ इन्च मोटाइको पक्की पर्खालले सीमांकन भएको हुनु पर्ने कोषको सर्त छ।
१३) धितो राखिने जग्गा कित्ताकाट गर्नपर्ने भए सञ्चयकर्ताका श्रीमान, श्रीमती वा दुवैको संयुक्त नाममा जग्गा धनिपूर्जा प्राप्त भएको एक महिनाभित्र कोषमा सम्पूर्ण कागजात पेश गर्नुपर्नेछ।
१४) जग्गा खरिद सापटीमा आफूले किन्ने जग्गाको स्वामित्व तोकिएको अवधि पूरा भएको हुनुपर्नेछ।
१५) सञ्चयकर्ताले सापटी माग गर्दा कोषले तोकिएका कागजात अनिवार्य पेश गर्नुपर्नेछ।
१६) यो कर्जाका लागि सञ्चयकर्ता कर्जा विभाग, लगनखेल र कोषका सबै शाखा कार्यालयमा सम्पर्क गरी आवेदन गर्न सकिने छ।
१७) कोषले कम्तीमा एक वर्षसम्म नियमित सञ्चयकोष कट्टी गरेका सञ्चयकर्ता र उमेर वा पदावधिका आधारमा दुई वर्ष सेवा अवधि बाँकी भएका सञ्चयकर्तालाई विभिन्न पाँच किसिमका सापटी प्रदान गर्दै आएको छ।
१८) जसमा सञ्चयकर्ता घर सापटी, सञ्चयकर्ता घरमर्मत सापटी, सञ्चयकर्ता शैक्षिक सापटी, सञ्चयकर्ता सरल चक्रकर्जा र सञ्चयकर्ता जग्गा खरिद सापटी छन्।

Open chat
1
Scan the code
Hello 👋
This is Purbeli Real Estate Whatsapp, How can we help you?