घरको सुरक्षाका लागि बीमा कति आवश्यक !

  • By: purbeli
  • July 10, 2022

सामान्यतः सबैको इच्छा भनेको जीवनमा एउटा घर बनाउँने हुन्छ। हरेकले जीवनभर कमाई गरेको पैसा जम्मा पार्दै घर बनाउँछन् । जीवनभरको कमाईले बनाएको घर कहिलेकाहीँ भैपरी आउने समस्याहरु भूइँचालो, जमिन धस्सिने, बाढी, पहिरो, आगालागी लगायतले क्षति गरे कसरी परिपूर्ति गर्ने ?

त्यसका लागि घरको बीमा गर्नु पर्ने हुन्छ । घरको बीमा गरेपछि भैपरी आउने क्षतिको परिपूर्ति बीमा कम्पनीले नै गरिदिन्छन्। आफूले कमाएको पैसाको केही रकम बीमाका लागि छुट्याएको अवस्थामा ठूलो नोक्सानी कम्पनीले बेहोर्ने भएपछि किन नगर्नु त ?

बीमा कम्पनीका संचालकहरुका अनुसार घर बनाउन लागेको लागतका आधारमा केही प्रतिशत रकम बीमा गर्नु पर्ने हुन्छ। जसका कारण भैपरी आउने समस्याबाट क्षति भएमा त्यसको पूर्ति कम्पनीहरुले गर्ने गर्छन।
बीमा कम्पनीका संचालकहरुका अनुसार आवासीय घरको मात्र बीमा हुन्छ। आवासीय घर भनेको हामी बस्नका लागि बनाइएको घर हो। अर्को व्यवसायिक घर पनि हुन्छ। जहाँ व्यवसाय गर्नका लागि बनाइएको हुन्छ। ठूला ठूला सपिङ मलहरु, उद्योग रहेका घरहरु, कम्प्लेक्सहरु, होटल रहेका घरहरु व्यवसायीक घर हुन् ।

अहिले प्रभु इन्स्योरन्स कम्पनीले बीमा गर्ने भनेको भैपरी आउने क्षतिको परिपूर्तिको प्रत्याभूतिका लागि गरिने करार गर्ने गरेको छ। यसको अवधि १ वर्षको हुने कम्पनीले जानकारी दिएको छ। कम्पनीका अनुसार १ वर्षका लागि घर बनाउँदा लागेको खर्चको केही प्रतिशत रकममात्र जम्मा गर्नु पर्ने हुन्छ। जस्तै, १ करोडमा घर बनेको छ भने त्यसको ०.५ प्रतिशतमात्र बीमा गरे पुग्छ।

घरको बीमा किन गर्ने ?

घरको बीमा गर्नु भनेको आफ्नो सम्पत्तीको सुरक्षा गर्नु हो । हामीले आफ्नो लागि एउटा सुन्दर घर बनाउँछौ । कुनै पनि बेला केही कारणवश वा अप्रत्याशित रुपमा प्राकृतिक विपत्ती (भूकम्प, आगलागी, बाढि, पहिरो) आएर घरमा क्षति पुर्याउन सक्छ । यदि हामीले घरको बीमा गरेका छौं भने आर्थिक हिसाबले सुरक्षित हुन सक्छौं ।
नेपालमा बैंकबाट कर्जा लिएर घर बनाउँदा कर्जा स्वीकृतिका लागि घरको बीमा पनि गराउँछ । बैंकले कर्जा सुरक्षणका लागि घर धितो राखेको हुन्छ । सँगसँगै भैपरी आउने विपत्तीको क्षतिपूर्तिका लागि घरको बीमा पनि गराएको हुन्छ । त्यसो गर्दा बैंक पनि कर्जा असुलीका लागि ढुक्क हुने गर्छ ।

घरको बीमा गर्नका लागि केही कागजपत्र पनि आवश्यक पर्छन् जसमा, घर मालिकको विवरण, नागरिकताको प्रमाणपत्र, घरको चार किल्ला खुलेको कागज, घरजग्गाको लालपुर्जा आदी।

के–के क्षति हुँदा क्षतिपूर्ति पाइन्छ ?

घरको भौतिक संरचनामा आन्तरिक तथा बाह्य विभिन्न कारणले हुने क्षतिको परिपूर्ति बीमा कम्पनीले गर्छन् । घरमा के–कस्तो अवस्थामा भएको क्षतिको जिम्मा बीमा कम्पनीले लिन्छन् त ? लुम्बिनी जनरल इन्स्योरेन्सका शाखा प्रमुख भुसालले निम्न जानकारी गराएः

अग्नीजन्य क्षति, हावाजन्य क्षति, पानीजन्य क्षति, भूमिजन्य क्षति, पहिरो वा भू–स्खलनको कारणले भएको क्षति, चट्याङजन्य क्षति, विष्फोटनजन्य क्षति, आकाशीय सामाग्रीजन्य क्षति, हवाईयान, रकेट, आकाशमा उड्ने वस्तुको कारणले भएको क्षति, आकाशीय पण्डि, अपरिचित वस्तुको कारणले भएको क्षति, आकाशको माध्यमबाट अकास्मत आउने कुनै पनि यन्त्र, उपकरण वा वस्तुको कारणले भएको क्षति, उड्ने वस्तुको उच्च आवाजको कारणले भएको क्षति, धक्का दिएर, छोएर, लडेर वा लागेर हुने क्षति, सवारी साधन, रेल, जनावर वा अन्य चलायमान वस्तुले धक्का दिएर, छोएर, लडेर वा लागेर भएको क्षति, रुख, विरुवा, खम्बा, तार, सामान, यन्त्र, उपकरण वा अन्य बाह्य वस्तुले धक्का दिएर, छोएर, लडेर वा लागेर भएको क्षति, अन्य घर वा भौतिक संरचनाले धक्का दिएर, छोएर, लडेर वा लागेर भएको क्षति, स्वजलन, आन्तरिक जलन वा आफै बलेको कारणले भएको क्षति, हुल, दंगा वा आतंकवादजन्य क्षति, मिसायल परिक्षण तथा अन्य कारणले भएको क्षति लगायतका क्षतिमा बीमा हुने गरेको छ।

Open chat
1
Scan the code
Hello 👋
This is Purbeli Real Estate Whatsapp, How can we help you?