घर निर्माणको लागत अनुमान विवरण

  • By: purbeli
  • August 4, 2022

सबैलाई सानै भए पनि आफ्नै घरमा बस्ने चाहना हुन्छ। तर, घर बनाउने प्रक्रिया भने झन्झटिलो हुन्छ ।घर बनाउन कति खर्च लाग्ला भन्ने अनुमान गर्नु पनि कठिन हुन सक्छ। यहाँ हामीले काठमाडौंमा आठ सयदेखि एक हजार वर्गफुटमा (तीन÷चार÷पाँच आना जग्गामा) बनाउन सकिने चार कोठे घरको लागत अनुमान विवरण तयार पारेका छौं। यो भाग १ हो ।

त्यसो त घर निर्माण लागत बनाउनेको इच्छा र आवश्यकताले तय गर्छ। कोही आफ्नो बजेट र आम्दानीअनुसार केही वर्ष लगाएर बनाइसक्ने होलान्। समेन्ट, इँटा, गिटी–बालुवा, डन्डी, झ्याल, ढोका, पाइप लाइन, बिजुली आदि अनिवार्य सामग्री हुन्। टायल, मार्वल, रङ, मोडुलर किचन, स्यानिटरी, फल्स सिलिङ, बत्ती, पार्केटिङ अतिरिक्त हुन्। यीबाहेक पनि घर बनाउन सकिन्छ।

नक्सा र डिजाइनः

नगरपालिकामा नक्सा पास नगरी घरको जग खन्न पाइँदैन। त्यसैले सबभन्दा पहिले नक्सा र डिजाइनको काम गर्नुपर्छ। नगरपालिकाका इञ्जिनियरको सहजिकरणमा नक्सा बनाउँदा प्रायः सबैको घर उस्तै उस्तै देखिन्छ। तर नक्साकै आधारमा जीवनकै महत्वपूर्ण काम अघि बढ्ने भएपछि सम्झौता गर्ने कुरा हुँदैन।
राम्रो नक्साले घरमा लाग्ने खर्च र समय अनुमान गर्न सहयोग गर्छ। घर बनाउँदै जाँदा बजेटभन्दा दोब्बर खर्च हुन नदिन पनि नक्सा र डिजाइन गर्नु आवश्यक छ।
एक तले घरको नक्सा बनाउन कम्तीमा एक लाख र बढीमा दुई लाख रूपैयाँ खर्च लाग्छ। इञ्जिनियरको अनुभव र निर्माण कम्पनीको विश्वसनीयताका आधारमा पनि मूल्य तय हुन्छ। इन्टेरियर थ्रिडीसहित डिजाइन गर्दा प्रतिवर्गफुट एक सय रूपैयाँ थप शुल्क तिर्नुपर्छ।

ठेकदार ज्यालाः

घर बनाउन सुरू गर्नु पहिल्यै ठेकेदार खोज्नुपर्छ। ज्यालाको सम्झौता भइसकेपछि मात्रै निर्माण अघि बढ्ने भएकाले यो पाटो निकै महत्वपूर्ण हुन्छ।
देशका विभिन्न स्थानमा ठेक्का लगाउने चलन फरक फरक हुन्छ। काठमाडौं उपत्यकाको कुरा गर्दा निजी घर निर्माणका लागि वर्गफिट नापका आधारमा र निर्माण सामग्रीका आधारमा गरी दुई किसिमले ठेक्कामा दिने चलन छ।
वर्गफिट नापका आधारमा ठेक्का दिँदा पहिलो तलाको ढलान सकिएपछि छत, बरन्डा र झ्यालको माथिल्लो भागमा हुने छानोले ओगटेको भाग नापिन्छ। चलनचल्ती र निर्माणको सम्झौताअनुसार प्रतिवर्गफिट चार सयदेखि पाँच सय रूपैयाँसम्म ठेकेदारले ज्याला लिन्छन्। यदि एक सम्पूर्ण छतको नाप एक हजार वर्गफिट भए पाँच लाख रूपैयाँ प्रति तला ठेकेदारलाई तिर्नुपर्छ।
त्यस्तै निर्माण सामग्रीको दरअनुसार ठेक्कामा दिँदा जग राखेको, पिलर उठाएको, ढलान गरेको, गारो लगाएको अलग–अलग दर कायम गरी पैसा तिरिन्छ। यहाँ काम सकिनासाथ पैसा तिर्नुपर्ने हुन्छ। यसमा पनि आपसी समझदारी अनुसार रकम तय हुन्छ।
यो ठेकेदारले काम गरिदिएको ज्याला मात्रै हो। यसमा सामग्री घरधनीले नै किन्नुपर्छ। यी दुवै ठेकेदारी प्रणालीमा काम गर्दा लाग्ने समय, काम गर्ने स्थान, कामको किसिम लगायत कुराले लागत निर्धारण गर्छ। सामान्य समयभन्दा चाँडो घर बनाउन परे, लामो दूरीमा निर्माण सामग्री ढुवानी गर्नुपरे वा जटिल वा नौलो डिजाइन जस्ता कुराले ज्याला बढ्छ।

सिमेन्टः

एक तले घरमा लाग्ने सिमेन्टको अनुमान गर्दा घरमा राखिने पिलर र बिमको आकारलाई ध्यान दिनुपर्छ। त्यस्तै गारोको आकारले पनि सिमेन्टको लागत निर्धारण गर्छ। नौ इन्चको गारो लगाउँदा भन्दा पाँच इन्चको गारो लगाउँदा सिमेन्ट कम लाग्छ। त्यस्तै नौ वटा पिलर राख्दा कम र बाह्र वटा पिलर राख्दा लागत बढी लाग्छ।
आठ सयदेखि एक हजार वर्गफिटमा बन्ने घरका लागि बढीमा तीन सय बोरा ओपिसी अनुमान गर्नुपर्छ। त्यस्तै जोडाइ, प्लास्टर र फिनिसिङमा करिब तीन सय बोरा पिपिसी लाग्छ। दुवै मिलाएर करिब छ सय बोरा सिमेन्ट लाग्छ।
अहिले ओपिसीको कारखाना मूल्य पचास किलोको प्रतिबोरा सात सय पचासदेखि आठ सय रूपैयाँ छ। त्यस्तै प्रतिबोरा छ सय पचासदेखि सात सय रूपैयाँसम्म पिपिसी पाइन्छ।

इँटाः

प्राविधिकका अनुसार घरको जग र पहिलो तलामा नौ इन्च गारो लगाउँदा राम्रो हुन्छ। जगमा बलियो पार्नुपर्ने र पहिलो तला तुलनात्मक रूपमा ओसिलो हुनाले मोटो गारो लगाउन सुझाव दिइन्छ।
गारोको उचाइ र मोटाइ हिसाब गरेर कुनै पनि घरमा लाग्ने इँटाको संख्या पत्ता लगाउन सकिन्छ। झ्याल र ढोकाको आकारले इँटाको लागत फरक पार्छ। प्रत्येक कोठामा स्ट्यान्डर्ड आकार (लम्बाइ छ फिट र चौडाइ चार फिट) को दुइटा झ्याल र एक वटा ढोका राखेर नौ इन्चको गारो लगाउँदा करिब २८ हजार इँटा अनुमान गर्नुपर्छ।

गिटी–बालुवाः

निर्माणमा अति आवश्यक बस्तु हो गिटी–बालुवा। एक तले घरका लागि १४– १५ टिपर गिटी–बालुवा लागत अनुमान गर्नुपर्ने हुन्छ। सामान्य अवस्थामा यसका खर्च करिब चार लाख रूपैयाँ पर्छ।
प्लास्टरका लागि सामान्य बालुवा भए पनि हुन्छ। तर ढलान, कोरा मसिनो गर्न डबल वास बालुवा राम्रो मानिन्छ। फिनिसिङ, गारोको आकारले बालुवाको लागत निर्धारण हुन्छ। मूल्य तलमाथि भएको अवस्थामा लागतमा पनि कम बढी हुन्छ।

डन्डीः

कुनै पनि संरचना बनाउँदा त्यसमा राखिने पिलर, भित्रको पर्खाल आदिले डन्डीको लागत निर्धारण गरेको हुन्छ। प्राविधिकका अनुसार जग राख्दा जमिनबाट कम्तीमा पाँच फिट गहिरो हुनुपर्छ। जगबाट पिलर उठाउँदा प्रति पिलर एक सय पच्चीस किलोभन्दा बढी डन्डी लाग्छ।
जगसँगै राखिने बिम, डिपिसी बिम, झ्यालको तल र माथि, पहिलो तलाको ढलान अड्ने बिम, भ¥याङ र ढलानमा गरी करिब साढे पाँच टन (पाँच हजार पाँच सय किलो) डन्डी आवश्यक पर्छ।

Open chat
1
Scan the code
Hello 👋
This is Purbeli Real Estate Whatsapp, How can we help you?