करोडौँ खर्च गरेर बनाएको घरमा कस्तो रंग लगाउने ?

  • By: purbeli
  • July 27, 2022

काठमाडौँ । घरको सुन्दरता रंगमा हुन्छ। धेरैले रंग लगाउन जानिएन भनेको सुनिन्छ। हामीले ठूलो रकम खर्च गरेर घर बनाइसकेपछि घरको बाहिरी र भित्री आवरणलाइ सुन्दर देखाउन रंग लगाउने कुरामा ख्याल गर्नु पर्छ।

पछिल्लो समय घरमा रङ लगाउने कुरामा धेरै मानिस सजग हुन पनि थालेका छन्। रङले घरलाई आकर्षक बनाउने गर्छ, त्यसकारण घर बनाउँदा रङको छट्टै महत्त्व छ। ग्राहकको मागअनुरूप नेपाली बजारमा स्वदेशी तथा विदेशी कम्पनीका विभिन्न रङ उपलब्ध छन्। अनेक गुणस्तर तथा कलर भेराइटीका साथै मानव स्वास्थ्य र वातावरणका क्षेत्रमा कुन रङले कस्तो असर गर्छ भन्ने विषयमा ग्राहकलाई आफूले प्रयोग गर्ने रङको विषयमा जानकारी पाउन कठिन ह छ।

नेपालमा उपलब्ध रङमा बाहिर तथा भित्र दुवै भागमा प्रिमियम, इकोनोमिक र रेगुलर गरी विभिन्न प्रकारका रङ उपलब्ध छन्। भित्ता रङगाउनुअघि लगाइने वालपुट्टी, प्राइमर, इमल्सन, डिस्टेम्पर आदि पनि रङकै उत्पादन हुन्। नेपालमा उत्पादन गर्ने पेन्टस्ले एक्स्टेरियर तथा इन्टेरियरमा स्पेसल इफेक्ट्स, उड फिनिस, इनामेल जस्ता कलर पनि उत्पादन गर्दै आएका छन्।

अहिले घरमा रङ लगाउने कुरामा धेरै मानिस सजग हुन थालेका छन्। केही अघिसम्म लाखौं खर्च गरेर घर निर्माण गर्नेहरू पनि वर्षौंसम्म घरमा रङ नलगाई बस्थे तर अहिले घर स्टिमेटको बजेटभित्रै रङका लागि पैसा छुट्याइन्छ।

आजका दिनमा सर्वसाधारण घरको लुक्स बढाउन कुन रङ प्रयोग गर्ने भन्ने विषयमा चासो दिन थालेका छन्। साथै किचनमा कस्तो रङ लगाउने, लिभिङ रुममा कुन रङ लगाउने, बेडरुममा कस्तो लगायतका इन्टेरियर कलरिङ विषयमा पनि मानिस ध्यान दिने गर्छन।

रङ लगाउँदा अपनाउनुपर्ने सावधानी

स्वास्थ्य जानकारहरूका अनुसार सिल्कलगायतका उच्च गुणस्तरीय रङ छनोट गर्नुपर्छ। निर्माणधीन अवस्थामै रहँदा रङ लगाउन खोज्नु उपयुक्त होइन। घर रङगाउनु अघि आफ्नो क्षेत्र तयार छ कि छैन त्यसतर्फ केन्द्रित हुन जरुरी हुन्छ। रङ लगाइसकेपछि सुक्न पर्याप्त मात्रामा समय दिएको अवस्थामा मानव स्वास्थ्यमा नराम्रो असर पर्दैन। त्यस्तै बजारमा उपलब्ध रङ स्वास्थ्यका लागि हानिकारक छ कि छैन ध्यान पुर्याउनुपर्छ। त्यस्तै बिग्रिएका, मक्किएका भित्ता मर्मत गरेर मात्र कलर गर्नुपर्छ।

बजारको अवस्था

पछिल्लो समय रङको बजार दिनानुदिन फस्टाउँदै गएको छ। पेन्ट उद्योग संघका अनुसार नेपालमा वार्षिक ४ अर्ब रुपियाँबराबरको रङको कारोबार हुने गरेको छ। यो पाँच वर्ष अगाडिको तुलनामा दुई गुण बढी हो। रङको व्यापार दशैंको अवसरमा ह्वात्तै बढ्छ। यस अवधिमा अरु समयभन्दा ४० प्रतिशतसम्म माग बढ्ने व्यवसायीको भनाइ छ। विगत केही वर्षता शहरीकरण तथा पुनर्निर्माण कार्यले गति लिन थाल्दा रङको बजार पनि सोही अनुरूप फस्टाउन थालेको छ। सर्वसाधारण घरलाई कसरी आकर्षक देखाउने भन्ने विषयमा बढी केन्द्रित रहँदा रङको खपत बढेको हो।
बाहिरी रङ
घरको बाहिरी रङले घरको सुन्दरताको व्याख्या गर्छ। तसर्थ, घरको रङ अरुको भन्दा फरक सबैलाई आकर्षित गर्ने खालको हुनपर्छ। साधारणतया घरको बाहिरी रङ मन्द खालको हुनुपर्छ। धेरै चम्किलो रङ खासै आकर्षित मानिँदैन।

किचेनमा लगाइन रङ

किचन भनेको घरको मुटु हो जहाँ परिवारका सदस्यहरूको बढी नै आवतजावत हुन्छ। हामी किचनमा धेरै समय बिताउँछौं। त्यसैले किचनमा आँखालाई बाधा नपर्ने रङ लगाउनुपर्छ। सकेसम्म इजी क्लिन रङ लगाउनु उपयुक्त हुन्छ किनभने किचन त्यस्तो ठाउँ हो। जहाँ पानी बढी खेलाइन्छ। भान्साका लागि पानीले पनि नबिगार्ने तथा सहजै सफा गर्न सकिने रङ फिट हुन्छ। किचेनमा हरियो बाहेक सबै रङलाई राम्रो मानिन्छ।

बेडरुमका लागि रङ

बेडरुम त्यो ठाउँ हो जहाँ दिनभरिको थकान मेटाउन विश्राम गरिन्छ, बेड रुमले मानिसको रात्री जीवनमा पनि प्रत्यक्ष सरोकार राख्ने भएकाले मानिसको स्वभाव अनुसार प्रयोग गर्न सकिन्छ। यस्तो ठाउँमा मन शान्त हुने खालका लाइट ब्लु, लाइट पिंक वा अफ ह्वाइट रङ लगाउन सकिन्छ। बजारमा हालसालै देखापरेको सिल्क कलर बेडरुमका लागि उपयुक्त रङ हो। बेडरुमका लागि बिबाहितका लागि वैजनी, हल्का रातो तथा हरियो मध्ये कुनै रङ उपयुक्त हुन्छ। त्यस्तै बेडरुमका लागि अबिबाहितका लागि रातो, हरियो तथा यी दुई मिश्रीतमध्ये कुनै रङ उपयुक्त हुन्छ। विद्यार्थीको कोठाको लागि भने सेतो रङ राम्रो हुन्छ। कालो तथा निलो रङलाई बेडरुममा लगाउन राम्रो मानिदैन।

लिभिङ रुमका लागि रङ

लिभिङ रुम सबैभन्दा पहिले देखिने तथा व्यक्तिको पहिचान झल्किने कोठा हो। तसर्थ, यो अन्य कोठाभन्दा आकर्षित हुनुपर्छ। पर्याप्त प्रकाश आउने कोठा भएकाले यसमा सजावट गर्नुपर्ने अन्य सामग्री राख्न सकिन्छ। सुन्दर देखाउन ब्राइट कलर लगाउनु उपयुक्त हुन्छ। यसमा आफूलाई मन पर्नेगरी जुनसुकै उत्तम रङ छान्नु बुद्धिमता हुन्छ। तर, भद्दा देखिने रङ भने लगाउनु हुँदैन। लिभिङ रुममा खैरो अथवा रातो रङ लगाउन राम्रो हुन्छ।

Open chat
1
Scan the code
Hello 👋
This is Purbeli Real Estate Whatsapp, How can we help you?