हामीले बनाउने घरको मूख्यद्वार पूर्व नै किन ?

  • By: admin
  • September 4, 2022

काठमाडौँ । धेरै वास्तुशास्त्रीहरु घरको मुख्यद्वार पूर्व दिशामा हुनु अत्याधिक राम्रो भन्छन् । सबै घडेरीहरु पूर्वतर्फ फर्केको हुँदैनन्, पाइदैनन् । यस्तो अवस्थामा के गर्ने त त्यसबारे हामी अर्को अंकमा छलफल गरौँला । तर, आज किन पूर्व दिशामा घरको मूख्यद्वार हुँदा राम्रो हुन्छ भन्ने विषयमा छलफल गर्दै छौँ।

वास्तुशास्त्री तथा ज्योतिष सुरेशचन्द्र रिजाल पूर्व दिशाबाट सूर्योदय हुने भएकाले यस दिशाबाट निकै राम्रो उर्जाहरु आउने बताउँछन् । त्यसकारण पूर्व दिशालाई अन्य दिशाहरु भन्दा निकै महत्वपूर्ण मान्ने गरिन्छ । पूर्व दिशाको मालिक देवताहरुका राजा इन्द्रलाई मानिन्छ ।

नवग्रहमध्ये सूर्यले पनि यस दिशाको नै प्रतिनिधित्व गर्दछ । वास्तुशास्त्र अनुसार यस दिशामा वास्तुपुरुषको मुखको भाग पर्दछ । यस्ता विविध कारणहरुले गर्दा पूर्व दिशालाई शुभ दिशा मानिएको रिजाल बताउँछन् ।

पूर्व दिशामा मूख्यद्वार हुनु राम्रो त हो तर, घर राम्रो हुनका लागि हामीले घरमा के के गर्नु हुँदैन भन्ने प्रश्नमा रिजाल भन्छन् । ‘पूर्व दिशामा फोहोर फाल्ने ठाउँ या फोहोर संकलन गर्ने ठाउँ हुनु पनि अशुभ मानिन्छ । साथै आफ्नो घरको यस दिशामा पुराना संरचनाहरुको भग्नावशेषहरु छन् भने पनि अशुभ नै मानिन्छ ।’

वास्तुशास्त्रका कतिपय ग्रन्थहरुमा दक्षिण दिशालाई अशुभ मानेको पाइन्छ । तर हाम्रो देशको सन्दर्भमा भने पूर्व दक्षिण हुँदै पश्चिमसम्म घामको प्रकाश जाने भएकाले यस दिशालाई नराम्रो मान्नुपर्ने भने देखिँदैन । केही विशेष परिस्थिति बाहेक अन्य प्रयोजनको लागि दक्षिण दिशा पनि प्रयोग गर्न सकिने देखिन्छ ।

घरको दक्षिण दिशामा धेरै जग्गा छोड्नु हुँदैन । यस दिशामा अरु दिशामा भन्दा बढी ठाउँ खाली छोडिएको छ भने घरमा धन सम्पति र मान मर्यादामा समस्या हुने मानिन्छ । घरको छत अर्थात् ढलान दक्षिणतिर ढल्केको हुनु पनि अशुभ मानिन्छ । छतको पानीको निकास पूर्व उत्तर वा पश्चिमतर्फ हुनुलाई राम्रो मानिन्छ । घरको दक्षिणतर्फ बनाइएको पर्खाल आग्नेय कोण वा दक्षिण दिशातर्फ ढल्केको छ भने पनि राम्रो मानिँदैन ।

जुन घडेरीमा घर बनाइएको छ त्यस घडेरीको जमिन दक्षिणतर्फ भिरालो छ भने त्यसलाई राम्रो मानिँदैन । छानोको पानी दक्षिणतर्फ झर्नेगरी घर बनाउन हुँदैन ।

शास्त्रअनुसार पश्चिम दिशाका मालिक वरुण देवता हुन् । वरुणलाई जलको देवता मानिन्छ । घरको पश्चिम दिशामा भत्किएको र चर्किएको भित्ता हुनुलाई राम्रो मानिँदैन । यस दिशामा गहिरो खाल्डो छ भने पनि यसलाई अशुभ मानिन्छ ।

उत्तर दिशाको मालिक धनसम्पत्तिका मालिक कुबेरलाई मानिन्छ । ज्योतिष शास्त्र अनुसार यस दिशाको प्रतिनिधित्व बुध ग्रहले गर्दछ । वास्तु शास्त्रका अनुसार यस दिशामा वास्तुपुरुषको छाती पर्दछ । यस कारण उत्तर दिशालाई वास्तु शास्त्रमा महत्वपूर्ण मानिन्छ ।

Open chat
1
Scan the code
Hello 👋
This is Purbeli Real Estate Whatsapp, How can we help you?