वास्तु अनुसार घरको ट्वाइलेट कहाँ हुन्छ ?

  • By: admin
  • September 18, 2022

काठमाडौँ । हिजोआज आधुनिक जीवनशैलीका साथमा शौचालयलाई पनि जोडेर अर्थात् अट्याच्ड बाथरुमका साथमा कोठाहरूको निर्माण गर्ने परिपाटी विकसित हुँदैछ, जुन शास्त्रका दृष्टिकोणले प्रत्येक पक्षमा नकारात्मक मानिने वास्तुशास्त्री सुरेशचन्द्र रिजाल बताउँछन् ।

स्नान घर र शौचालय एकै ठाउँमा निर्माण गरिएका घरहरू पनि प्रशस्त भेटिन्छन् । त्यसरी स्नानागार (बाथरुम) र शौचालय (ट्वाइलेट) एकै ठाउँमा बनाएको खण्डमा परिवारका सदस्यहरूमा किसिमिकिसिमका रोगव्याधिको प्रकोप हुने गर्दछ भनेर वास्तुशास्त्रमा स्पष्ट उल्लेख गरिएको छ ।

उक्त घरका सदस्यहरू एकपछि अर्को बिरामी भइरहन्छन् । तिनीहरूका बीचमा मनोमालिन्य र झैझगडाका सम्भावना पनि हुन्छन्, अनि गृहिणीहरूमा मनोविकार, डिप्रेसन र चिडचिडेपना देख्न सकिन्छ । अतः वास्तुशास्त्रले ग्रह र स्थानको तर्कलाई अघि सार्दै यसरी एकै ठाउँमा बाथरुम र ट्वाइलेट बनाउन निषेध गरेको छ ।

वास्तुनियमअनुसार यसको मुख्य कारण हो – स्वच्छ पानी र स्नान गृहमा ग्रहहरूमध्ये चन्द्रमाको अधिकार र वासस्थान हुन्छ, जबकि फोहोर ठाउँ र शौचालयमा राहु ग्रहले अधिकार राख्दछ । यी दुबै ग्रह सँगै बस्नुलाई ज्योतिषशास्त्रले ग्रहणयोग मान्ने गर्दछ । त्यसैले स्नानगृह र शौचालय एउटै कोठामा राख्दा उक्त योग र त्यस योगबाट सिर्जना हुने दोषको स्वतः आगमन हुन्छ ।

यदि ठाउँको अभावका काण स्नानगृह (बाथरूम) र शौचालय (ट्वाइलेट) एकै ठाउँमा नबनाई नहुने परिस्थिति छ भने घरको पश्चिमी भाग वा वायव्य भागमा बनाउनु राम्रो हुन्छ । त्यस्तै त्यसरी बनाइएको बाथरुमको कोठाको नैर्ऋत्य र दक्षिण दिशाको बीचमा ट्वाइलेटको पेन, पूर्व दिशामा धारा, ईशान दिशामा सावर र बाथ टब, आग्नेयमा गीजर वा हीटर, उत्तर दिशामा हात धुने बेसिन तथा ईशान दिशामा भेन्टिलेसन वा झ्याल बनाउनु पर्दछ ।

यसरी शौचालय र स्नानागारका चिजबिज मिलाएर राखेमा राहु र चन्द्रमाको युतिका कारण उत्पन्न हुने दोषको भागी हुनु पर्दैन र ग्रहण योगको परिणाम भोग्नुपर्दैन । त्यस्तै एकै ठाउँमा बनाए पनि वा बेग्लाबेग्लै बनाए पनि ट्वाइलेटमा पेनभन्दा बाहिरबाट बग्ने पानीको बहाव पूर्व, ईशान वा उत्तरतर्फ बगेको बढी राम्रो हुन्छ । त्यसैले बाथरुम वा ट्वाइलेटको जमिनको सतह पूर्व, ईशान वा उत्तरतर्फ भिरालो हुनु उत्तिकै आवश्यक छ ।

कुनै पनि घरमा शौचालय बनाउने सबैभन्दा उत्तम स्थान उक्त घरको उत्तर–पश्चिम दिशा अर्थात् वायव्य दिशा हो । विकल्पका रूपमा पश्चिम, दक्षिण, दक्षिण–पश्चिम (नैर्ऋत्य) र दक्षिण–पूर्व (आग्नेय) दिशामा शौचालय निर्माण गर्न सकिन्छ ।

तर यी ठाउँमा खाल्डो बनाउन निषेध गरिएको पाइन्छ । माथि बताइएका दिशाहरू अर्थात् उत्तरपश्चिम, पश्चिम, दक्षिण, दक्षिणपश्चिम वा दक्षिणपूर्व दिशामा शौचालयको निर्माण गर्दा दुई फुट अग्लो बैठक बनाएर उक्त ठाउँमा पेन राखी बनाउनु पर्दछ । शौच गर्ने ठाउँमा पेन राख्दा दिसा गर्न बस्ने मानिस दक्षिण दिशातर्फ फर्केर बस्ने व्यवस्था मिलाउनु सबैभन्दा राम्रो हुन्छ ।

पूर्व र उत्तर दिशातर्फ फर्किएर दिसा गर्न बस्नु उचित मानिंदैन । सामान्यतया पूर्व दिशालाई सूर्योदय हुने दिशा र उत्तर दिशालाई धनवैभवका देवता मानिने कुबेर र लक्ष्मीको दिशा मानिएको हुँदा दिसा बस्दा पूर्व र उत्तर फर्किनु हुँदैन भनिएको हो ।

त्यस्तै पश्चिम दिशा सूर्यको अस्त हुने दिशा भएको हुँदा सम्भव हुन्छ भने पश्चिम तर्फ पनि दिसा गर्दा फर्कनु हुँदैन भन्ने शास्त्रीय मान्यता छ । दक्षिण फर्कने व्यवस्था नहुने अवस्थामा पश्चिम दिशामा फर्किएर दिसा गर्दा पनि ठूलो दोषको भागी बन्नु पर्दैन ।

Open chat
1
Scan the code
Hello 👋
This is Purbeli Real Estate Whatsapp, How can we help you?