घरमा वास्तुदाेष छ भने कसरी कम गर्ने ?

  • By: admin
  • September 13, 2022

हामी सबैको चाहाना भनेकै आफ्नो र परिवारको जीवन सुख सुविधाले भरियोस् भन्ने नै हुन्छ । धन सम्पत्ति कमाउनकै लागि हामी दिन रात मिहिनेत पनि गरिरहेको हुन्छौँ । तर, पनि सोचे जस्तो सफलता हाम्रो हातमा आउँदैन । हामी हरेक ठाउँबाट असफल हुन्छौँ तर कारण थाहा हुदैन ।

ज्योतिष तथा वास्तुशास्त्री सुरेशचन्द्र रिजाल जीवनमा सोचे अनुसार सफलता हात नपर्ने, आर्थिक रूपमा प्रगति गर्न नसक्नुका विभिन्न कारणहरूमा एउटा वास्तु दोष पनि हुन सक्ने बताउँछन् । यदि घर र अफिसमा वास्तु दोष भएको कारणले सफलता हात नपरेको हो भने वास्तुशास्त्रमा केही यस्ता उपायहरू बताइएको छ, जसलाई प्रयोग गर्दा जीवनमा सुख समृद्धि ल्याउन सकिने उनको भनाइ छ ।

उनका अनुसार घर र अफिसको मुख्य ढोकामा सिन्दूरले स्वस्तिक चिन्ह बनाउनुभयो भने घरमा सुख र समृद्धि आउँछ । यो चिन्हको निर्माणले घरमा नकारात्मक ऊर्जाहरूले प्रवेश पाउँदैन । ढोकामा स्वस्तिक चिन्ह बनाउँदा यसको लम्बाइ र चौडाइ औँलाले नाप्दा नौ अम्बलको हुनुपर्छ ।

घरको मूल ढोकामा तुलसीको बिरुवा हुनुलाई शुभ मानिन्छ । यसरी ढोकाको छेउमा तुलसीको बिरुवा भएमा घरमा भएको वास्तु दोषहरूबाट छुटकारा हुन्छ । यदि घरमा जग्गा छ भने घरको छेउछाउमा केराको बोट लगाउनुलाई पनि राम्रो मानिन्छ । केराको बोटले घरमा सकारात्मक ऊर्जा प्रवाह गर्न मद्दत गर्छ ।

घरको छतमा गोलो ऐना राख्नाले पनि घरमा भएको वास्तु दोषबाट छुटकारा पाउन सकिन्छ । घरको छतमा ऐना लगाउँदा के कुरालाई ध्यान दिनु पर्छ भने उक्त ऐनामा घरको पूर्ण भाग देखिनु भने पर्छ ।

धन सम्पत्ति बढाउन घरको मूल ढोकामा शङ्ख, कौडा, समुन्द्रको झ्याउलाई रातो कपडामा बेरेर झुन्डाउनु पर्छ । वास्तु शास्त्रको मान्यता अनुसार यसरी झुन्डाउँदा घरका व्यक्तिहरू माथि नकारात्मक दृष्टि पर्दैन ।

घरमा बिहान र साँझ शङ्ख बजाउँदा त्यसबाट आएको ध्वनिले घरमा रहेको वास्तु दोषहरू हट्छ र घरमा आर्थिक सम्पन्नता आउँछ । घरमा धन सम्पत्तिको कमी हुन नदिन घरको लबीको दक्षिण तर्फ घर भित्र आउदैं गरेको अवस्थाको सेतो घोडाको तस्बिर झुन्डाउँदा राम्रो हुन्छ । वास्तु शास्त्रको मान्यता अनुसार यसो गर्नाले घरमा आउने समस्याहरू भाग्छ भन्ने छ ।

घरको उत्तर दिशामा कुबेर भगवानको प्रतिमा लगाउनाले पनि धन सम्पत्तिमा वृद्धि हुन्छ । यसरी प्रतिमा लगाउँदा वरिपरिका भाग जति खाली राख्न सकियो आर्थिक प्रगति पनि त्यत्तिकै बढ्दै जान्छ ।

Open chat
1
Scan the code
Hello 👋
This is Purbeli Real Estate Whatsapp, How can we help you?