घरको आन्तरिका सजावटको वास्तु कस्तो हुनु पर्छ ?

  • By: admin
  • September 5, 2022

काठमाडौँ । हामीले जीवनभर दुःख गरेर घर बनाए पनि आन्तरिक सजावटमा वास्तु नमिलाउँदा समस्या पर्छ। ज्योतिष तथा वास्त्रुशास्त्री सुरेशचन्द्र रिजाल घरको बाहिरको जस्तै आन्तरिक सजावटमा पनि वास्तुबारे ध्यान दिनु पर्ने बताउँछन् ।

रिजाल भन्छन्, ‘वास्तुशास्त्रले घरको हरेक कोठाकोठा कुन दिशा र कस्तो हुनुपर्ने भन्नेबारे निर्देश गरेको छ ।’ उनका अनजुसार घरमा राखिएका हरेक सामग्री कुन दिशामा राखेको छ ? भन्ने कुराले गहिरो अर्थ राख्छ । रिजालले भने, ‘जस्तै फोटो, फूलको भाँडो, पलङ जस्ता सामग्री कस्तो र कहाँ राख्ने ? विवाहितले शयन कक्षमा कता फर्किएर सुत्ने ? अविवाहितले कता फर्किएर सुत्ने ? जस्ता विषय वास्तुशास्त्रले निर्देशित गर्ने गर्छ ।’

कुनै पनि घरमा फर्निचर राख्दा वास्तु विज्ञानले दक्षिण–पश्चिम दिशापट्टि राख्न सुझाव दिने रिजालको भनाइ छ । उनका अनुसार दक्षिण–पश्चिम दिशामा पर्ने कोठामा सकेसम्म घरमूली बस्नु उचित मानिन्छ ।

पूर्वोत्तरबाट आएको ऊर्जा दक्षिण पश्चिममा पुगेर भण्डारण हुने भएकाले सो दिशामा भण्डार एवं दराज जस्ता संरचना राख्न वास्तुशास्त्रले सुझाव दिने रिजाल बताउँछन् । कोठा–कोठाको वास्तु हेर्दा पूर्वाेत्तरमा दराज राख्दा त्यसले ऊर्जालाई अवरोध गर्छ भन्ने मान्यता राखिन्छ । हरेक कोठामा पलङ राख्दा दक्षिण–पश्चिमतिर राख्ने गरिन्छ । त्यसको सम्मुखमा हल्का सामग्री राखिन्छ ।

पूर्व र उत्तरबाट जहिले पनि ऊर्जा आउने गर्छ । बाहिरबाट आएको ऊर्जा पूर्व र उत्तरको कोठामा ठोकिने गर्छ । उक्त ऊर्जा दक्षिण–पश्चिममा जम्मा भएर पुरै घरमा प्रबाह हुन्छ । त्यसैले दक्षिण–पश्चिममा घरमूली बस्दा घरको लागि फाइदा हुन्छ भन्ने मान्यता राखिन्छ ।

वास्तुशास्त्रले सुत्नेबेला कता फर्किने भन्ने कुरामा पनि जोड दिएको छ । सामान्यतया उत्तरपट्टि सिरानी गरेर सुत्नु हुँदैन भन्ने मान्यता छ । वास्तुले विद्यार्थीलाई पूर्वतिर र विवाहिताहरुलाई दक्षिणतर्फ सिरानी बनाएर सुत्न सुझाव दिन्छ ।

यसमा पनि विज्ञान छ, जस्तो बिहान ११ बजेसम्मको घाममा धेरै ऊर्जा प्राप्त हुन्छ भन्ने मान्यता छ । विद्यार्थीको लागि त्यो ऊर्जा आवश्यक पर्छ । तर विवाहिताहरुको लागि घर गृहस्थी चलाउनुपर्ने भएकाले उनीहरुलाई दक्षिणतर्फ सिरानी बनाउनु उचित हुने वास्तुशास्त्री रिजाल बताउँछन्।

पूर्वदिशालाई ज्ञानवृद्धिको दिशा मानिन्छ । दक्षिणतर्फ भयो भने जिम्मेवारी बोध गराउने ऊर्जा मिल्छ । यदि कोठा सानो भएर दक्षिणतर्फ सिरानी राख्नै नमिल्ने अवस्था छ भने पूर्वपट्टि नै सिरानी राख्दा सबैको लागि उचित हुन्छ ।

वास्तु अनुसार भान्सा कोठा पूर्वीदक्षिणी भेगमा राख्नुपर्छ । यो यस्तो भाग हो जहाँ दिनैभरि सूर्यको किरण पर्छ । त्यहाँ अग्नि वा तापतत्व धेरै हुन्छ भनिन्छ । त्यहाँ अग्निजन्य क्रियाकलाप बढी हुने भएकोले भान्साकोठाको लागि पूर्वीदक्षिणी उपयुक्त हुन्छ । यदि पूर्वीदक्षिणी भेगमा भएन भने उत्तरपश्चिमी भेगमा पनि राख्न सकिन्छ ।

Open chat
1
Scan the code
Hello 👋
This is Purbeli Real Estate Whatsapp, How can we help you?