घर निर्माण सम्पन्न प्रमाणपत्र के हो र किन लिने ?

  • By: admin
  • August 15, 2022

काठमाडौं । हामी घर बनाउँछौँ । आफ्नो स्थानीय तहमा गएर घरको नक्सापास गरी बनाएको घरको बैधानिकताका लागि निर्माण सम्पन्न भएको प्रमाणपत्र लिनु पर्ने हुन्छ ।

त्यसका लागि स्थानीय तहका डिजाइनर र नक्सा दरखास्तवालावीच भवन निर्माण सुपरिवेक्षण तथा अनुगमन गर्न गरिएको त्रिपक्षिय सम्झौता वमोजिम निर्माण कार्य सम्पन्न भएपश्चात् निर्माण सम्पन्नता प्रमाणपत्र जारी हुने व्यवस्था छ ।

भवन निर्माण सम्पन्न भएपछि हरेक घरधनीले भवन निर्माण सम्पन्नताको प्रमाणपत्र लिनुपर्ने अनिवार्य व्यवस्था छ । आवश्यक कागजागतसहित निवेदन दिएपछि हरेक स्थानीय तहको नियमानुसार केही दिनभित्र नगरपालिकाको भवन निर्माण इजाजत विभागद्वारा तोकिएको प्राविधिकवाट निर्माण सम्पन्न भएको भवनको स्थलगत निरीक्षण गरी नक्सापास गर्दा तोकिएको शर्त पालना गरे/नगरेको फोटो सहितको प्राविधिक प्रतिवेदन पेश गर्छ ।

नगरपालिकाका प्राविधिकको प्रतिवेदनमा निर्माण भएको भवन संरचनाले भवन संहिता तथा भवन निर्माणसम्बन्धी मापदण्ड पूर्ण रुपमा पालना गरे–नगरेको स्पष्ट खुलाई पेश गर्नुपर्ने व्यवस्था गरिएको हुन्छ । उक्त प्रतिवेदनको आधारमा नगरपालिकाले देहायबमोजिम भवन निर्माण सम्पन्नताको नगरपालिकाका प्राविधिकहरुबाट पेश गरेको प्रतिवेदन सहित भवन निर्माण सम्पन्नताको प्रमाणपत्र जारी गर्न भवन निर्माण इजाजत विभागका सम्वन्धित कर्मचारीहरुले प्रमुख प्रशासकीय अधिकृत वा निजले अधिकार प्रत्यायोजन गरेको अधिकारी समक्ष पेश गर्नेछन् । नगरपालिकाले सामान्यतः भवन निर्माण सम्पन्नताको प्रमाणपत्र निवेदन पेश भएको मितिले १० दिनभित्र प्रमाणपत्र दिइसक्छन् ।

पूर्व स्वीकृत नक्साको कुल क्षेत्रफलको १० प्रतिशत क्षेत्रफलसम्म मापदण्ड अनुकूल हुनेगरी थप निर्माण भएको भवनको हकमा थप क्षेत्रफल खुलेको फ्लोर प्लान पेश गरेमा भवन निर्माण सम्पन्नताको प्रमाणपत्र जारी गर्न सकिने व्यवस्था छ ।

पूर्व स्वीकृत कुल क्षेत्रफलको १० प्रतिशत क्षेत्रफल भन्दा बढी निर्माण गरेको भवनको हकमा नक्सा पास÷तल्ला थप सम्वन्धी प्रकृया पुरा गर्नुपर्नेछ । भवन निर्माण सम्बन्धी मापदण्ड र भवन संहिता अनुकुल बनेको भवनको नक्सापास गर्नुपर्ने हुन्छ । सो पालना नगरेको भवनको हकमा निर्माण भएको भवनको नक्सा पेश गर्न लगाई नक्सा प्रमाणित गरी निर्माण सम्पन्नताको प्रमाणपत्र जारी गर्ने व्यवस्था छ ।

निर्माण सम्पन्नता प्रमाणपत्र नलिए के हुन्छ ?

निर्माण सम्पन्नता प्रमाणपत्र नलिँदासम्म तपाईंँको घरले कानुनी बैधानिकता पाउँदैन । यदि तपाईको घर तोकिएको मापदण्ड र स्वीकृत नक्साभन्दा फरक बनाउनु भएको छ भने आवेदन दिए पनि निर्माण सम्पन्नता प्रमाणपत्र पाउन सक्नुहुन्न । नक्सा पास गर्दाको अवस्थामा भएका सहमति पूर्ण पालना भएको वा नभएको नगरपालिकाका प्राविधिकले निरिक्षण गरेर मात्र बल्ल निर्माण सम्पन्न प्रमाणपत्र दिने गर्छन् ।

यदि घर धनीले आफै नभत्काएमा नगरपालिकाका कर्मचारी आएर भत्काउँछन र भत्काउँदा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित घर धनीले व्यहोर्नु पर्ने व्यवस्था छ ।

घर निर्माण सम्पन्नता प्रमाणपत्र नलिँदासम्म राज्यबाट पाउने सेवा सुविधा उपभोग गर्न पनि पाइँदैन । बिजुली, पानी, ढल लगायत सुविधाका लागि आवेदन दिँदा नक्सा पास र निर्माण सम्पन्न प्रमाणपत्र पनि पेश गर्नुपर्ने हुन्छ ।

यस्तै, निर्माण सम्पन्न प्रमाणपत्र नलिएको घरबाट बैंकिङ कारोबार पनि गर्न पाइँदैन । बैंकमा घर धितो राखेर कर्जा निकाल्नका लागि घर कानुन अनुसार बनेको हुनुपर्छ । साथै, घरधनीले उक्त घर नामसारी गर्न पाउँदैन । सरकारी अड्डा, अदालतमा हुने घरसँग जोडिएका कुनै पनि कामहरु हुँदैनन् । घर निर्माण सम्पन्न प्रमाणपत्र नलिएको घर खरिद–बिक्री गर्न पनि पाइँदैन । भोली केही गरी कानुनी समस्या आएको खण्डमा अड्डा अदालतमा मुद्दा हाल्न पनि पाइँदैन ।

भवन निर्माण सम्पन्नताको प्रमाणपत्र प्राप्त गर्न चाहिने कागजातहरुः

(१) भवन निर्माण सम्पन्नताको प्रमाणपत्र पाउँ भन्ने व्यहोराको नक्सावालाको निवेदन

(२) नक्सा पास अनुसार भवन निर्माण भएको छ भनि घरधनी र डिजाइनरले गरेको कवुलियतनामा

(३) फाउन्डेसन, प्लिन्थ लेवल, प्रत्येक फ्लोर ढलान गर्दाको फोटो सहितको डिजाइनरको फिल्ड भेरिफिकेसन प्रतिवेदन

(४) भवन निर्माण सम्पन्न भएको भन्ने व्यहोराको डिजाइनरको प्रतिवेदन

(५) निर्माण सम्पन्न भएको भवनको सम्भव भएसम्म चारैतर्फ देखिने गरी खिचिएको फोटोहरु

(६) सम्पत्ति कर तिरेको कागजात

(७) घरधनीको २ प्रति पासपोर्ट साइजको फोटो

(८) घरधनीको नागरिकताको फोटोकपी

(९) नक्सा स्वीकृत गर्दा तोकिएका शर्तहरु पुरा गरेको व्यहोरा निवेदनमा खुलेको हुनुपर्नेछ । जस्तैः सेफ्टी ट्यांकी तथा रुख–विरुवा रोपेको लगायत ।

Open chat
1
Scan the code
Hello 👋
This is Purbeli Real Estate Whatsapp, How can we help you?