घरको नक्सा बनाउँदा जान्न पर्ने केही कुराहरु

  • By: admin
  • August 16, 2022

काठमाडौँ । हामीले घर कसरी बनाउँने भन्ने विषयमा कहिल्यै सोच्दैनौ । जीवनभर दुःख गरेर कमाएको पैसाले घरबनाउँदा कुनै समस्या भयो भने पुनः मिलाउन गाह्रो हुन्छ । त्यसैले घर बनाउनु पूर्व नै धेरै कुराहरु सोच्नु पर्ने हुन्छ ।

धेरैजसोलाई ‘घर बनाउनुअघि कसलाई भेट्ने ?’ भन्ने थाहा हुँदैन । कतिपयले सबैभन्दा पहिला ठेकेदार कम्पनी खोज्छन् । त्यो ठेकेदारले आर्किटेक इन्जिनियरसँग भेट गराइदिन्छ । जसले घरको नक्सा मात्र बनाइदिन्छ । मान्छेहरू सोही नक्साको आधारमा घर बनाउन तम्सिन्छन्, जुन गलत हो ।

घर बनाउनुअघि सबैभन्दा पहिला राम्रो आर्किटेक इन्जिनियर खोज्नुपर्छ । आजभोलि आर्किटेक्चर कन्सल्ट्यान्सी जहीँतहीँ छन् । सुरुमा आर्किटेक्चर फर्ममा जानुपर्छ । त्यहाँ घर बनाउँदा सिभिल र आर्किटेक्चर पक्षमा ध्यान दिनुपर्ने कुराको परामर्श दिइन्छ ।

पैसा बचाउन चक्करमा ‘कम खर्चमा नक्सा र डिजाइन गर्छु’ भन्नुभयो भने मूर्खता हुन्छ । किनभने, घर बनाउँदा नक्सा र डिजाइनको महत्वपूर्ण भूमिका हुन्छ । जस्तो नक्सा र डिजाइन बनाइएको हुन्छ, घर पनि त्यस्तै बन्ने हो ।

आर्किटेक इन्जिनियरलाई भेट्दा आफ्नो आवश्यकता खुलेर बताउनुपर्छ । यति छोराछोरी छन्, आमाबुबा सँगै बस्नुहुन्छ, बच्चा खेल्न र गाडी राख्ने ठाउँ चाहिन्छ आदि आफ्नो आवश्यकता भन्नुपर्छ ।

यता कोठा राख्ने, यता ट्वाइलेट राखिदिने भनेर पुरानो शैली बताइरहनु पर्दैन । तपाईंको आवश्यकता थाहा पाएपछि आर्किटेक इन्जिनियरले आफ्नो कलाकौशल देखाएर चिटिक्कको घरको डिजाइन तयार पारिदिन्छन् । डिजाइन चित्त नबुझेमा परिवर्तन गर्न सकिन्छ । नक्साको डिजाइन गर्दा बिर्सन नहुने कुरा घर भूकम्प प्रतिरोधात्मक बन्छ कि बन्दैन भन्ने हो ।

नगरपालिकाहरूले आफ्नो नगर क्षेत्रभित्र घर बनाउन आ–आफ्नै मापदण्ड बनाएका हुन्छन् । सोही मापदण्ड पालना गरी घर बनाउनुपर्ने हुन्छ । मापदण्डभन्दा फरक घरको डिजाइन र नक्सा स्वीकृत हुँदैन ।

कतिपय अवस्थामा उपभोक्ताको अपेक्षा र भवन निर्माणको मापदण्डले मेल नखान पनि सक्छ । जग्गा कस्तो र कति छ भन्ने कुराले पनि घर बनाउने कुरालाई निर्धारण गर्न सक्छ । लामो लिभिङ रुम चाहिन सक्छ । लिभिङ रुमको उचाइँ दुई तलाको बनाउँछु भन्न सक्नुहुन्छ । पिल्लर र बिमको साइज बढाएर पनि उपभोक्ताको रिक्वायरमेन्ट अनुसारको बलियो घर बनाउन सकिन्छ ।

नगरपालिकाका इन्जिनियरले मापदण्डभित्रका रहेर काम गर्छन् । त्यो भएपछि उनीहरूलाई ‘एक्स्ट्रा स्ट्रक्चर एनलाइसिस’ गरिरहन परेन । सेवाग्राहीले पनि ३० हजार रुपैयाँमै नक्सा बनाउन सक्छन् । यसो हुँदा उपभोक्ताले बाहिर आर्किटेक्चर कन्सल्ट्यान्सीमा एक लाख रुपैयाँ तिर्न खोज्दैनन् ।

अहिलेको चलन नक्सा बनाएर घर बनाउन थालिहाल्ने छ । तर, नक्सा र डिजाइन तयार पार्दा लागत पनि आंकलन गर्नुपर्छ । घर बनाउँदा कस्तो निर्माण सामग्री प्रयोग गर्ने पहिले निक्र्यौल हुनुपर्छ । त्यो सामग्री प्रयोग गर्दा कति खर्च लाग्छ ? घरको लागत कसरी कम गर्न सकिन्छ । आफ्नो बजेटभित्र रहेर घर बनाउँदा आफ्ना रिक्वायरमेन्ट अटाउँछन् कि अटाउँदैनन् ? सबै पहिले थाहा पाउनुपर्छ ।

कहिलेकाहीँ नक्साको आधारमा घर बनाउँदा आपूmसँग भएको पैसा संरचना ठडाउन पुग्ने तर फिनिसिङ गर्दा पैसा नपुग्ने पनि हुन सक्छ । खर्चबारे थाहा नहुँदा लगानी धेरै बढ्न पनि सक्छ वा फिनिसिङमा सम्झौता गर्नुपर्ने हुन्छ । त्यसैले घरको डिजाइनसँगै उक्त घर ठड्याउन कति खर्च लाग्छ पूर्ण जानकारी लिनुपर्छ ।

आर्किटेक्चर र सिभिल इन्जिनियरिङ सुविधा एकै ठाउँमा पाइने कन्सल्ट्यान्सीमा जाँदा फाइदा हुन्छ । आर्किटेक्ट र सिभिल इन्जिनियरले नक्सा र डिजाइनको काम गर्दा घरको लागत निस्किन्छ । घरको नक्सा तयार भएपछि उपभोक्ताले भनेजस्तो घर बन्छ कि बन्दैन भनेर हेर्न थ्रीडी आकृति बनाउन लगाउनुपर्छ । आफ्नो घर यस्तो बन्छ भनेर पहिल्यै थाहा हुनुपर्छ ।आर्किटेक र सिभिल इञ्जिनियरले तयार पारेको स्टिमेटमा बल्ल ठेकेदार कम्पनी खोज्न जाने हो ।

मान्छेले जीवनभर संघर्ष गरेर कमाएको पैसाबाट घर बनाउन गइरहेको हुन्छ । घर बनाउँदा मोटो रकम खर्च हुन्छ । तर, घर बनाउँदा नक्सा र डिजाइनमा खर्च गर्न डराउँछन् । सुरुवातमै नक्सा गतिलो बनेन भने घर राम्रो बन्दैन र बलियो पनि नहुन सक्छ ।

Open chat
1
Scan the code
Hello 👋
This is Purbeli Real Estate Whatsapp, How can we help you?